'आमा' यो शब्द कति सुन्दर छ। शब्द सँग सँगै 'आमा' व्यक्ति पनि कति प्यारो र सुन्दर हुनुहुन्छ। नौ महिना सम्म कोखमा राखेर, दुख कष्ट सहेर आमा बाहेक अरु कसैले जन्म दिन सक्दैन। जन्मिए पछि दुई वर्षको उमेर नहुन्जेल सम्म दश धारा दुध पिलाएर हुर्काउने व्यक्ति हुन् आमा। कति महान् हुनुहुन्छ आमा। महान् यस कारण भनिरहेको छु कि आमाले जसरी यति धेरै दुख र कष्ट सहेर एउटा बच्चालाई जन्म दिनु हुन्छ। आमा एक नारी हुन्। उनले भोगेको पिडाको वर्णन गर्न शब्द कम हुने गर्छ। महिनावारीमा हुने पिडा होस् वा बच्चा जन्माउने बेला हुने पिडा दुवै असहनीय हुन्छ। हाम्रो हिन्दु धर्ममा आमालाई देवीको स्थान दिइएको छ। उच्च स्थान दिइएको छ आमालाई। संसारको सबैभन्दा पवित्र संबोधन भनेर आमा शब्दलाई नै भनिन्छ। आमाको बारेमा केही लेख्न कुनै विशेष दिनको पर्खाइमा बस्नुपर्ने त होइन तर यो मातातीर्थ औंसीको दिन म मेरी आमाको बारेमा केही शब्द लेख्न गइरहेको छु। आमा वा माता यो शब्दको अर्थ कुनै बच्चालाई जन्म दिने र पालनपोषण गर्ने अथवा शुकाणुसँग मिलेर बच्चाको विकासको लागि अण्ड प्रदान गर्ने महिलालाई भनिन्छ।

मेरी आमा तिमी अरु भन्दा फरक छौ मेरो लागि। तिमीले  कति कष्ट सहेकी छौ, कति त्याग गरेकी छौ, कति आफ्नो रहरहरु मारेकी छौ। उन्नाइस वर्षको कलिलो उमेर मै तिम्रो विवाह भयो। र एक्काइस वर्ष मै तिमीले मलाई जन्म दियौ। मलाई जन्म दिदाँ तिम्रो जीवन नै जोखिममा रहेको थियो। तर पनि आमा तिमीले मलाई जन्म दियौँ। माया र करुणाले मलाई हुर्कायौ, बढायौं र ठूलो मान्छे बनायौँ। माइतीघरमा कहिले केही काम नगरेकी तिमीले कर्मघरमा सबै काम गर्यौ। घाँस, दाउरा, गाई, वस्तु सबै गर्न सिक्यौं तिमीले। कति दुख गर्यौ, सासुको कति नराम्रो वचन सुन्यौ तर पनि हिम्मत कहिल्यै हारेनौ। आमा तिमी महान् छौ। पढ्न रहर हुदा हुदै पनि तिम्रो विवाह भयो। विवाह हुने बित्तिकै मेरो जन्म भयो। म हुर्किन नपाउदैँ भाइको जन्म भयो। अब त झन् हामी नहुर्के सम्म तिमीले केही गर्न नपाउने भयौ। हामी हुर्कियौं, स्कुल पढ्न जाने भयौँ, अनि तिमीले पनि अघि बढ्न खोज्दा सहयोग भएन घरबाट। घर छोडेर हिँडेउ, हाम्रो भविष्य र पढाइको निम्ति। एउटा कोठा भाडामा लिएर बस्न थाल्यौँ हामी। चारजनाको परिवार आमा, बुवा अनि भाइ र म। तिमीले एउटा भाडामा लिएको कोठालाई घर जसरी सजायौ। भाडाको कोठाबाट एउटा सानो टिनको छानो भएको घर। त्यहाँ तिमीले गरेको दु:ख, दाउरा बेच्ने देखि लिएर बत्ती कात्ने सम्मको काम गर्यौ। कुखुरा देखेर घिन लाग्ने तिमीलाई, कुखुरा पनि पाल्न थाल्यौ। अण्डा बेच्न थाल्यौ। अनेक दु:ख गर्यौ सिर्फ हामीलाई पढाउनकै निम्ति। यस्तै दु:ख गर्दा गर्दै एउटा पक्कि घर पनि बनायौ तिमीले। हामी स-साना नै थियौं तिमीले यस्तो दुख गर्दा, बुझ्दैन थियौं, झन् धेरै दुःख दिन्थौँ तर पनि कहिले तिमीहरुले यस्तो गर्यौ,उस्तो गर्यौ भनेर कहिल्यै भनेनौं। जति दुख हुँदा पनि कहिले दुःखी भएको देखिन मैले तिमीलाई। मनमा पिडा भए पनि मुहारमा कहिले झल्किन दिएनौं। आमा जब जब तिमी हास्छौँ तब तब संसार पुरै हासेको महशुस हुन्छ मलाई।

सानोमा कति दुख दियौं होला मैले र भाइले तर कहिले तिमीहरुले दु:ख दियौं मलाई भनेको सुनिन मैले। तर नपढ्दा भने तिमीले धेरै पिटेकी छौ। हरेक चोटि राम्रो सँग पढ भनेर सम्झाएकि छौ। मेरो जिवनको हरेक उतारचढावमा साथ दिएकी छौ। मेरो सबै गल्तीहरुलाई माफ गरेकी छौ। म बिरामी हुँदा म सँगसँगै रात भरी सुतेकी छौ। मैले धेरै चोटी गल्ती गर्दा पनि मेरो हरेक गल्तीहरू लाई माफ गरेकी छौ। यसैले त भन्ने गर्छु म तिमी महान् छौ।  तिमीलाई कति सजिलै म हरेक कुरा भन्न सक्छु। आमा मलाई भोक लाग्यो, मलाई सन्चो भएन, आमा मेरो कपडा मैलो छ आदि इत्यादि। बेफिक्री भएर हरेक कुरा सुनाउन सक्छु। कोही सँग रिस उठ्यो भने तिमीसँग रिस पोख्न सक्छु। आफ्नो मिल्ने साथी जसरी मलाई यो भयो मलाई यसले यो भन्यो भन्न सक्छु। किनकि गाली खाने डर त हुँदैन। आमाले कुरा नबुझी कराउने र पिट्ने गर्नु हुन्न। 

आमा किन यस्तो छौ तिमी, प्यारी अनि यति धेरै सुन्दर। म आफूलाई अत्यन्तै भाग्यमानी सम्झन्छु तिम्रो कोखबाट जन्म लिन पाउँदा। तिमीलाई आमा भनेर सम्बोधन गर्न पाएको मा। तिम्रो मायाको अनुभव गर्न पाएको मा। तिमीले आफ्नो हरेक रहर, चाहानाहरु मारेकी छौ हाम्रो निम्ति। रात दिन नभनिकन काम गरेकी छौ, मेहनत गरेकी छौ, आफ्नो सपना त्यागेकी छौ। हामी विद्यालयबाट आउँदा जहिले मिठो मिठो खाजा बनाएर राखेकी हुन्थ्यौं। त्यही खाजाको लागि भएपनि कतिबेला घरमा पुगौं जस्तो हुन्थ्यो। मैले आजसम्म तिमीलाई म तिमीलाई धेरै माया गर्छु भनेर भनेko छैन तर पनि तिमीले मेरो मनको कुरा हरेक चोटी बुझेकी छौ। कति झुटो बोलेko  छु मैले तिमीसँग, कतिचोटी मन दुखाएको छु मैले तिम्रो। तर खोइ कसरी तिमीले मेरो हरेक गल्ती र झुटहरु माफ गरिदिन्छौँ। मैले कति धेरै चोटी तिम्रो मन दुखाएको छु तर पनि तिमी मलाई उतिनै माया गर्छौ र उतिनै पर्वाह गर्छौ। 

आजकल म घरबाट टाढा छु, मेरी आमा मलाई दिनको तीन चोटी फोन गर्छिन्। त्यो पनि भिडियो कल... अडियो कलले हुन्न उनलाई... किन गर्नु पर्छ र दिनको तीन चोटी फोन भन्दा तँलाई पो बोल्न मन लाग्दैन हामी सँग bolna , मलाई त नबोली खाना रूच्दैन, चिन्ता लाग्छ के गरिरहेको छेस्, खाना खाइस् कि खाइनस् भन्दै। कति धेरै चिन्ता गर्छिन्। 

खोइ आमा तिम्रो रिण कसरी तिर्छु होला र मैले... तिम्रो माया र ममताको भार खोइ कसरी तिरु... यति टाढा बसेर पनि तिमीलाई उत्तिकै दु:ख दिरहेko छु। तिम्रो मन दुखाईनै रहेको छु। कति चोटी अब पढाइ छोड्छु, म पढ्दिन भनेर भन्दा कति सम्झाएकि छौ। परीक्षामा फेल भएर हरेश खादाँ, मेरो आत्मविश्वास बलियो बनाउन सहयोग गरेकी छौ। हरेक कुरामा सहयोग गरेकी छौ। आमा, तिमीले मेरो हरेक गल्तीहरू माफ गरेकी छौ, आमा सबै गल्तीहरू सच्याउने छु म आफ्नो, तिमीलाई खुशी बनाउने छु।