गाउँको त्यो सानो विद्यालयमा सुरु भएको हाम्रो प्रेमकथा, दुई निर्दोष मनहरूको सपनाको कथा थियो। म सुवास, एउटा गरिब परिवारमा जन्मेको केटो। हाम्रो घरको अवस्था निकै नाजुक थियो। बुवाको बिरामी शरीर, आमाको आँखाबाट निरन्तर बग्ने आँसु, भाइबहिनीहरूको जिम्मेवारीले मलाई निकै पीडा दिन्थ्यो। यति हुँदाहुँदै पनि मैले पढाइमा कहिल्यै हार मानिनँ। शिक्षकहरू पनि मेरो प्रतिभाले खुसी हुन्थे।
त्यही विद्यालयमा भेटिएकी अञ्जली, मेरो जीवनको सबैभन्दा ठूलो उपहार थिई। ऊ मध्यवर्गीय परिवारकी सरल र हँसिली केटी थिई। उसको परिवारमा अभाव नभए पनि सोच निकै परम्परागत थियो। पढाइमा मेरो प्रतिभाले प्रभावित हुँदै, ऊ बिस्तारै मेरो नजिक आई। सुरुमा हामी किताब र कापी साट्ने साथी मात्र थियौँ, तर विस्तारै हाम्रो मित्रता गहिरो मायामा परिणत भयो। हामीले धेरै सपना देख्यौँ, जीवन एकसाथ बिताउने प्रण पनि गर्यौँ।
एकपटक हामीले विद्यालयको भ्रमणका लागि नजिकैको हरियाली जंगलमा गएका थियौँ। त्यो दिन अझै पनि मेरो स्मृतिमा ताजा छ। हामी समूहबाट टाढा गएर एउटा सुन्दर फूलै फूलले भरिएको ठाउँमा पुगेका थियौँ। म फूल टिपेर अञ्जलीको कपालमा सजाइदिएँ, अनि ऊ लाजले मुस्कुराउँदै मलाई हेर्दै थिई। उसको त्यो लजाएको मुस्कानले मेरो हृदयलाई अनौठो आनन्दले भरिदिएको थियो। हामीले त्यस ठाउँमा एउटा सानो रूखको फेदमा बसेर हाम्रो भविष्यका सपनाहरू साटासाट गरेका थियौँ। ऊ मेरो हात समाउँदै भन्थी, "सुवास, हाम्रो जिन्दगी यत्तिकै सरल र सुन्दर भइदिए हुन्थ्यो। तिमी र म सधैंभरि यसरी नै हाँस्न पाउँ।" मैले उसको हात समातेर भनेको थिएँ, "तिमी मेरो जीवनको सबैभन्दा सुन्दर सपना हौ, अञ्जली। तिमी हुँदा मेरो जीवन सुन्दर लाग्छ।"
अर्को दिन हामी नजिकैको खोला किनारमा गएका थियौँ। हामीले पानी छ्यापाछ्याप गर्दै रमाइलो गरेका थियौँ। उसको हाँसोले मेरो हृदय प्रफुल्ल बनाएको थियो। हामीले बालबालिकाझैं दौडिँदै, हाँस्दै, खेल्दै त्यो दिन बिताएका थियौँ। बेलुका फर्कने बेला ऊ मेरो काँधमा टाउको राखेर मलाई भनी, "तिमी मेरो हरेक खुसीको कारण हौ, सुवास। तिमीसँग बिताएका यी पलहरू नै मेरो जीवनको सबैभन्दा सुन्दर सम्झना बन्नेछन्।"
समय बित्दै गयो। हाम्रो आर्थिक अवस्था झन् झन् बिग्रियो। बुवाको स्वास्थ्य पनि दिनप्रतिदिन कमजोर हुँदै गयो। मेरो परिवारको जिम्मेवारी र पढाइ एकसाथ सम्हाल्न निकै गाह्रो भयो। मैले निकै दुःख पाएँ, तर अञ्जली कहिल्यै मेरो साथबाट टाढा भइन। मेरो दुःख र आँसुमा उसले सधैँ मेरो हात समाउँदै भनिरहन्थी, "सुवास, परिस्थिति जस्तो भए पनि म तिमीलाई कहिल्यै छोड्ने छैन। तिमी नै मेरो जीवन हौ।"
कहिलेकाहीँ हामी गाउँको खुला आकाशमुनि रात बिताउँथ्यौँ। आकाशका ताराहरूलाई हेर्दै हामी आफ्नो भविष्यको कल्पना गर्थ्यौँ। ऊ मेरो काँधमा टाउको राखेर भन्थी, "सुवास, तिमी नै मेरो संसार हौ। तिमीबिना मेरो जीवन अर्थहीन छ।" उसका यी शब्दहरूले मेरो मनलाई अत्यन्त शान्ति र प्रेमले भरिदिन्थ्यो। हामी हरेक साँझ नदिको किनारमा बसेर सूर्यास्त हेर्दै हाम्रो मायाको गहिराइ महसुस गर्थ्यौँ।
विद्यालयको पढाइ सकिएपछि हामीले विवाह गर्ने निर्णय गर्यौँ। तर वास्तविकता हामीले सोचेभन्दा निकै कठोर थियो। अञ्जलीको परिवारले मेरो गरिबीलाई देखेर हाम्रो विवाह अस्वीकार गरिदियो। मलाई गरिब र असफल भन्दै बारम्बार अपमानित गरियो। अञ्जलीको घरमा अन्यत्रबाट विवाहको प्रस्ताव आउन थाल्यो, परिवारले दबाब दिन सुरु गरे। यो सबै देखेर म भित्रैबाट गल्न थालेँ।
एकदिन अञ्जलीले मलाई फोन गरी परिवारको दबाब र अवस्था सुनाई। हामीले हाम्रो प्रेम जोगाउन घर छोडेर टाढा जान निर्णय गर्यौँ। केही दिन हामी एकसाथ रहेर सपना बुन्दै भविष्य निर्माण गर्ने सोच्यौँ। तर अञ्जलीको परिवारले ठूलो कदम उठाएर प्रहरी र आफन्तहरूको सहयोगमा हामीलाई भेटेर अलग गरिदियो। मलाई जबरजस्ती तानेर लैजाँदा अञ्जलीको हात छुट्दै गर्दा ऊ चिच्याउँदै भन्थी, "सुवास, मलाई एक्लै नछोड, तिमी बिना म कसरी बाँचौँला?"
अञ्जलीलाई विवाहको लागि घर फर्काइयो। उसको आँसु र पीडा कसैले बुझेन। एक दिन उसको फोन आयो, आँसुले भिजेको स्वरमा ऊ भन्दै थिई, "सुवास, तिमी आएनौ भने म मर्छु। तिमी बिना बाँच्न सक्दिनँ। यो मेरो अन्तिम फोन हो।" यो सुनेपछि मेरो हृदय फुटेर टुक्राटुक्रा भयो। उसको घरमा कडा सुरक्षा हुँदा मैले भेट्न पनि सकिनँ। म उसको घर बाहिर बस्दै आकाशतिर हेरेर रोइरहेँ।
विवाहको दिन अञ्जलीले विष सेवन गरी आफ्नो जीवन अन्त्य गर्ने निर्णय गरी। ऊ विवाह मञ्चमा सजिएकी थिई, तर उसको मुखमा विष थियो। रस्म सुरु हुँदै गर्दा विषको असरले ऊ लड्न थाली। उसका आँखाहरू मलाई खोजिरहेका थिए। ऊ धीमे स्वरमा मेरो नाम लिँदै भन्दै थिई, "सुवास, मलाई माफ गर है, मैले हाम्रो सपना पूरा गर्न सकिनँ।"
मैले पनि विष सेवन गरी विवाह स्थलतर्फ दौडिएँ। अन्तिमपटक उसलाई देख्न म आतुर थिएँ। विवाह स्थलमा पुग्दा मैले अञ्जलीलाई लडेको अवस्थामा देखें। अन्तिम शक्तिले म उससम्म पुगेँ। हाम्रो आँखा एकअर्कासँग जुध्यो, हामी दुवैले मुस्कुराउँदै एकअर्कालाई हेर्यौँ र पुरानो प्रण सम्झियौँ– "हामी सँगै बाँच्ने छौँ, नभए सँगै मर्ने छौँ।" मेरो आँखाबाट अन्तिम पटक आँसु झर्दै गर्दा मैले उसलाई भनेँ, "अञ्जली, अर्को जुनी भए पनि तिमी नै मेरो प्रेम बनिदिनू।"
चारैतिर सन्नाटा छायो। हाम्रो शरीर एकअर्काको नजिक थियो, हाम्रो हात अझै पनि एकअर्कासँग जोडिएको थियो। हाम्रो आँखाबाट अन्तिम पटक बगेका आँसुहरूले त्यो ठाउँ भिजाइरहेका थिए। यो नै हाम्रो मायाको अमर कथा थियो।
Comments (0)
No comments yet. Be the first to comment!
Sign in with Google to leave a comment