अत्याचार भन्ने बित्तिकै एउटा बुहारीले सासु ससुरा र पतिबाट पाएको दुःख या समाजले गरीब दुखी माथि दिएको पीडालाई बुझ्ने गर्छौ। आज यहां म आफ्नो कथा सुनाउन गाइरहेकी छु। मेरो कथा, आफ्नो कथा, एउटा बुहारीले घरपरिवार बाट पाएको दुःख। एउटा महिलालाई समाजले दिने दुःख, पति नबुझ्ने हुँदा पाएको दुःख। किन छ यो समाज यस्तो, जहाँ हरेक कुरामा एउटा महिलालाई नै दोषी मान्छ। किन पुरुषको केही गल्ती देख्दैन? गल्ती देखें पनि किन नजरअन्दाज गर्छ? किन छ यो समाज यस्तो?
कथा सुरु गर्नु भन्दा पहिला म आफ्नो बारेमा हजुरहरुलाई केही भन्न चाहन्छु आफ्नो बारेमा।
म भित्री तराईमा जन्मिएकी केटी। बाबा आमाको कमाउने भाडा खेतबारी नै थियो। अरु केही काम गर्नु हुन्न थियो बाबाले न आमाले। सीजन अनुसार धान, मकै, गहुँ लगाउनु हुन्थ्यो। हाम्रो खेतबारी धेरै नै थियो। सबै खेतबारी बाबा आमा आफैले हेर्नु हुन्थ्यो। भाई र म हुन्थ्यौ घर मा एक्लै। वरिपरि अरु ठूलोबाबाहरुको घर थियो। बाबा आमा जहिले खेत मै धेरै समय बिताउने भएर होला घर भित्रको सबै काम मैले सानो उमेरमा नै सिके। घरमा कोही पाहुनाहरु आउँदा पनि बाबा आमा पर्खिएर बस्नु पर्दैन थियो। उहाँहरुको खानपिन बस्ने सुत्ने सबैको व्यवस्था म गरिदिन्थे। सबैले आमालाई भन्ने गर्नु हुन्थ्यो कति असल छोरी पाएछौ तिमीले भनेर। बाबा आमा धेरै खुसी हुनुहुन्थ्यो म देखि। अहिले सम्म खेतबारी बाट नै खाना लाउन पुगिरहेको थियो। म र भाइ घरको काम सकाएर पढ्न जान्थ्यौं। स्कूलबाट आएर होमवर्क हरु सकाएर म फेरि दिनकै जस्तो आफ्नो काममा लाग्थे, भाई भने खेल्न जान्थे। यस्तो होइन कि मलाई जबरजस्ती थियो घरको सबै काम गर्न। नगर्दा पनि केही फरक त पर्दैन थियो तर बाबा आमा एकदमै थाकेर आउनु हुन्थ्यो खेत बाट त्यसकारण पनि म आफै नै सबै काम गर्ने गर्थे। बाबा आमा घर मै भएको दिन भने मैले केही गर्नु पर्दैन थियो। कक्षा नौ मा पढ्दै गर्दा मेरो एउटा केटा संग नजिकता बढ्यो। हामी जतिबेला पनि अर्का संग बोलिरहेका हुन्थ्यौ। क्लासमा पनि एउटै बेञ्चमा बस्थ्यौं। एकदिन उसले मलाई पर्पोज गर्यो। मपनि उसलाई मनपराउथेँ त्यसकारण yes भनेर भनिदिए। तर केही महिनामा नै हाम्रो सम्बन्ध तोडियो। म फेरि अर्को केटा संग नजिकिए। तर यो सम्बन्ध पनि केही महिनामा नै तोडियो।
घरमा आमा बुवालाई थाहा भयो यो बारेमा, मलाई धेरै कराउनु भयो। तर मलाई डर नै थिएन किनभने त्यतिबेला म कोही संग बोल्दैन थिएँ र कोई संग सबन्धमा थिइन। बाबा आमालाई यही कुरा भने मैले, विश्वास गर्नु भयो बाबा आमाले र अब कराउन छोड्नु भयो। मैले एसएलसी पनि दिए। म पढाईमा खासै राम्रो थिइन बल्लतल्ल पास मात्रै हुन्थे, डर थियो एसएलसीमा पास हुन्छु कि हुदैन भन्ने। तर म पास भएँ। अचम्मको साथै खुसी पनि भएको थिएँ। त्यसपछि म घुम्नलाई मामाघर गएँ। केही दिन बसे पछि म घर फर्किए र कक्षा एघारमा भर्ना गरेँ। एघारमा भर्ना भएको केही महिना पछि म फेरि मामाघर गएकी थिएँ। त्यहाँ एउटा केटा संग मेरो भेट भयो। उसको घर मेरो मामाघरको पछाडि पट्टि थियो। मलाई त्यो केटा एकदमै राम्रो लाग्यो र बोल्ने कोसिस गरे। तर त्यो केटा म सँग बोल्न नै चाहेन। केहीदिन मामाघर बसेर म घर फर्किएँ। मामाघरमा भाई संग त्यो केटाको नाम सोधेको थिएँ मैले, त्यही नाम अनुसार फेसबुकमा सर्च गरे विशाल तिमल्सिना भनेर। आइहाल्यो उसको प्रोफाइल फ्रेन्ड रिक्वेस्ट पठाएँ। तर धेरै दिन सम्म फ्रेन्ड रिक्वेस्ट नै accept भएन। एक चोटि मेसेज गरि हेर्छु भनेर मेसेज गरे तर मेसेज पनि रिप्लाई आएन। त्यसपछि मैले केही गर्नै छोडीदिए। एक हप्ता पछि रिप्लाई आयो मेसेजको अनि फ्रेन्ड रिक्वेस्ट पनि accept भएछ। मेरो खुशीको त सीमा नै थिएन। बोलचाल हुन थाल्यो। माया बस्दै गयो। तर माया त मेरो तर्फ बाट मात्रै रहेछ। ऊ त timepass गरिरहेको रहेछ। मैले यो थाहा पाउने बित्तिकै उ संग बाट संपर्क विहिन भएँ। ऊ मलाई कल मेसेज दिनहुँ गर्थ्यो तर म केही रिप्लाई नै गर्न छोडिदिएँ।
केही समय पछि मेरो फेसबुक बाटै हरी देवकोटा भन्ने मान्छेसँग कुराकानी हुन थाल्यो। बोल्दा बोल्दै हामी बीच माया बस्दै गयो। ऊ देश भन्दा बाहिर थियो। ऊ घर परिवारको कारण कतार गएको थियो पैसा कमाउन। ऊ नेपाल आएपछि हामी विवाह गर्नी सम्ममा पुगिसकेका थियौं। घरमा हरी र मेरो बीचको सम्बन्धको बारेमा आमालाई थाहा भयो। त्यतिबेला मेरा धेरै जसो साथीहरु भागेर विवाह गरिरहेका थिए। आमालाई पनि चिन्ता भयो कतै मैले पनि त्यस्तै गर्दिन भनेर। मलाई दिन रात किचकिच गर्न थाल्नु भयो केटा बोला की हामीले भनेको संग विवाह गर भनेर। यति बेला मेरो उमेर जम्मा उन्नाइसको थियो। केटालाई म कसरी बोलाउँथे र उ त बाहिर थियो कतारमा। मैले केटा बाहिर भयो कुरा भने, आमालाई हामीले खोजेको केटा सँग विवाह गर भनेर दबाब दिन थाल्नु भयो मलाइ। मेरो पढाई पनि राम्रो थिएन। म संग अब अरु केही उपाय नै भएन। विवाह गर्नु पर्ने नै भयो। हामी केटा हेर्न गयौं फेरि मामाघर। मामाघर नजिकै रहेछ केटाको घर। केटा र केटाको बाबा आमा मलाई हेर्न त्यही मामाघर आउनु भयो। हामी घर परिवारमा सल्हा गरेर खबर गर्छौ भनेर उहाँहरू जानु भयो। केटा हेर्दा त राम्रो नै थियो। उसको उमेर पनि धेरै भएको रहेनछ। किन यति हतार हतारमा विवाह गर्न खोजेका थिए मैले केही बुझिरहेको थिइन। हामी घर फर्कियौं। घर फर्किएको चार दिन पछि मामाघर बुवाको कल आयो। विवाह मंसिर 26 गरे गर्नी केही आपति त छैन नी भन्दै। मलाई कसैले सोध्नु पनि भएको थिएन। केटा कस्तो लाग्यो। बिहे गर्छेस् की नाई। सबै आमा बाबाको मर्जीले भइरहेको थियो। विवाह दिन आयो घर नै छोडेर भागुम जस्तो भएर आयो तर कहाँ जाने के गर्ने केही थाहा थिएन मलाई। मेरो मर्जी बिना नै मेरो विवाह भईरहेको थियो तर म केही गर्न सक्दिन थिएँ। विवाह भयो। विवाह भएको केही दिन बित्दै गर्दा मलाई थाहा हुँदै थियो किन यति हतार गरेकी विवाह गर्नको लागि भनेर। मेरो पति ठीक थिएनन्। लागूपदार्थको सेवन गर्ने गर्दा रहेछन्। विवाह भएको एक हप्तापछि नै मलाई कुटपिट गर्न थालिसकेका थिए उनले। म के नै गर्न सक्थेँ र सासु ससुरा पनि त्यस्तै उल्टै मलाई नै कराउँथे।
पति दिनकै रक्सी खाएर आउँथे र मलाई पिटथे। मेरो मामाघर नजिकै थियो तर मलाई त्यहाँ जाने अनुमति थिएन। विवाह भएको 16 दिन पछि म माइत गएँ। त्यहाँ गएर बाबा आमालाई सबै थोक भने। आमाले पनि मलाई अब तिम्रो भाग्य नै यस्तै रहेछ सहेर बस भन्नु भयो। आमाको कुराले मलाई धेरै रिस उठ्यो। कराए आमालाई, केही वर्ष पर्खिन सक्नु हुन्न थियो। म धेरै भएको थिए होइन हजुर हरुलाई। कहिले विवाह गरेर पठाइदिउ भन्ने भएको थियो होइन अब खुसी हुनु हुन्छ होला नि मलाई यस्तो बुढो पर्दा। दिनकै कुट्छ, रक्सी खाएर आउँछ, सासु ससुराले पनि कुट्छन्। अब खुसी हुनु रमाउनु, हजुर हरुले खोजेको त पुगीहाल्यो नि। मेरो कुरा सुनेर आमा रुँदै हुनु हुन्थ्यो। भाई पनि कराउँदै थियो आमालाई एउटा छोरी धेरै भएको होइन बल्ल खायौ नी अब खुसी होऊ। हामी दिदी भाइले आमालाई धेरै नै करायौँ। दुनियाँको भरोसा गर्ने आफ्नो छोरीको भरोसा नगर्ने यस्ता नी हुन्छन् बाउ आमा। किन जन्माएको मलाई मारिदिएको भए हुन्थ्यो नी। अब देखि तिम्रो छोरी मरी भन्दै म घर बाट निस्किएँ र फेरि आफ्नो कर्मघर गएँ। विवाह भएको एक - डेड बर्ष सम्म यहि चलिरहेको थियो। मैले शारीरिक सम्बन्ध राख्न नमान्दा पनि जबरजस्ती शारीरिक सम्बन्ध राख्थ्यो उ। विवाह भएको यति समय भइसक्दा पनि बच्चा नभएको देखेर सासु ससुरा मलाई बाँझी भन्थे। मलाई मतलब थिएन। म आफै नै बच्चा नहोस् भन्ने चाहन्थे। सासु ससुराले कुरा नबुझ्ने भए पनि अरु नातेदारहरु मेरो कुरा बुझ्दथ्ये। एकदिन घर छेउकै जेठानी ले एउटा भए नी बच्चा पाउ अनि देवर बाबु सुध्रेलान् की भन्नुभयो। आमाले पनि भन्नु भएको थियो एउटा बच्चा जन्माउ अनि सबै ठीक हुन्छ कि भनेर। मलाई नी उहाँको कुरा ठिकै लाग्यो। र एउटा बच्चा पाउने निर्णय गरे। बच्चा पनि बस्यो। सासु ससुराको मेरो तर्फ व्यवहार राम्रो हुँदै गयो। अब उहाँहरू पनि आफ्नो छोरालाई सम्झाउन थाल्नु भयो यस्तो नगर अब त एउटा बच्चा पनि हुन्छ। त राम्रो बाउ बन्नु पर्छ बच्चाको लागि भनेर। तर कहाँ सुन्नेवाला थिए तिनी। मलाई झन् धेरै कुटपिट गर्न थाले। पहिला मलाई कुटपिट गर्दा सासु ससुरा देखेको न देखेको जस्तै गर्थे भने अहिले बुढाले मलाई कुट्न आउँदा उनीहरू आफैं छोरालाई पिट्ने।
बच्चाको कारणले गर्दा सासु ससुराबाट माया पाउन थालेकी थिएँ मैले। अब अलिकति भने पनि आस पलाएको थियो जीवनमा सबैकुरा ठीक हुन्छ भनेर। तर कहिले ठीक भएन। छोरी जन्मीइ। घरमा सासु ससुरा र बुढा बाहेक सबै खुसी हुनुभयो लक्ष्मीको आगमन भयो भन्दै। म माइत जना छोडिसकेको थिएँ। विवाह पछि एक चोटि मात्रै म माइत गएको थिएँ। मलाई माइत पठाउने कुरा चल्दै थियो। तर म जान मानिन। सक्नु हुन्छ भने यही मेरो स्याहारसुसार गर्नुहोस सक्नु हुन्न भने म आफै गर्न सक्छु भने। यति भनिसकेपछि सासुले समाजको डरले गर्न सक्छौं हामी भन्नुभयो। म माइत नजाने भएँ। भाई आयो त्यहीँ भेट्न। दिदी जाम घर भनेर कति आग्रह गर्यो तर म गइन। मलाई मन नै थिएन जान। बाबा आमाको अनुहार हेर्न पनि मन थिएन। उहाँहरूले नै गर्दा मेरो यो हालत भएको थियो। उहाँहरुलाई मैले कहिले माफ गर्नै सकिन। सासु र बुढालाई छोरो चाहिएको तर जन्म छोरीको भएको थियो। छोरी जन्मिइ भनेर अब मलाई फेरि पहिलाको जस्तै गर्न थाले सासु ससुराले। फेरि कुटपिट हेप्ने। तर ससुराको भने म तर्फको व्यवहार राम्रो नै थियो। सासुले र बुढाले कुट्दा उहाँ रोक्नु हुन्थ्यो। बुढाले अब बाहिर अरु केटीहरु पनि लिएर हिँड्न थालेका थिए। घर आउन छोडिसकेको थिए। कहिले काँही आउँथे। घर बसुन्जेल कुट्थे र जान्थे। मेरो फेरि जीवन पहिलाको जस्तै भयो।
एकदिन म सधैँको जसरी कुटाई खाएर बसेको थिएँ, मोबाइलमा मेसेज आयो unknown नम्बर बाट। सञ्चै छौं तिमी भन्दै? मैले चिनिन को हो भनेर। रिप्लाई गरिन। फेरि अर्को हप्ता पनि माग आयो। मैले रिप्लाई गरिन। अर्को हप्ता पनि आयो। लगातार 3 हप्ता सम्म मेसेज आएपछि कोही साथि होलान् भन्ने सोचेर उमम सञ्चै छु भने। उताबाट मलाई चिनेउ भनेर मेसेज आउँछ। मैले नाई चिनिन को होला भनेर मेसेज गरे। म हरी भनेर मेसेज आयो। मेरो होस हवास उड्यो। कहाँ बाट पाउनु भयो मेरो नम्बर भनेर सोधे मैले। साथी संग बाट लिएको भनेर मेसेजको रिप्लाई आयो। सञ्चो बिसञ्चो साटासाट पछि बुढा कस्ता छन् त तिम्रो माया त गर्छन् नी भन्ने प्रश्न आयो उता बाट। मैले उम्मम भने। तर उनलाई सबैकुरा थाहा भइसकेको रहेछ। मलाई झुटो नबोल, तिम्रो सबै कुरा बुझ्छु म कति बेला झुटो बोल्छौ, कति बेला के गर्छौ सबै थाहा पाउँछु म भनेर मेसेज रिप्लाई गरे। मैले उनलाई सबै थोक भने। आमा बुबाले जबरजस्ती विवाह गरिदिए। हजुर यहाँ हुनु हुँदैन थियो, म घर छोडेर पनि कहाँ जान्थे, मजबूरीमा विवाह गरे। विवाह भएको यत्रो समय भैसक्यो म एकदिन पनि खुसी भएकी छैन। मैले एकैचोटी सबै कुरा भने उनलाई। उनले केही बिग्रिएको छैन। अब म आए नी। तिमीलाई म यहाँ बाट निस्किन सहयोग गर्छु भन्दै उताबाट भन्छन्। हामी दिनकै जस्तो दस पन्ध्र मिनेट बोल्ने गर्न थाल्यौ एकअर्का संग। उनी जहिले मलाई move on होऊ। छोरीको जिन्दगी बर्बाद नगर। सक्ने जति सहयोग म गर्छु भनेर भन्ने गर्छन्। तर पनि म मा हिम्मत आइसकेको थिएन। एकदिन बुढाले मलाई पिट्ने क्रममा छोरी माथि पनि हात उठाए। त्यसदिन मैले निर्णय गरें अब मैले यो घर छोड्नु पर्छ भनेर। मलाई कुटिसकेर उनी घरबाट बाहिर गए। सासु ससुरा पनि घरमा थिएनन्। मैले दुई जोर कपडा झोलामा राखेर त्यस घर छोडेर हिंडे। बसपार्क सम्म हिँदै पुगे। साथमा एक रुपैयाँ थिएन। मोबाइल मात्रै थियो। कसलाई फोन गर्ने। माइतमा गर्न मन लागेन। भाइलाई दुःख दिन मन लागेन। भाइले थाहा पायो भने घर टाउकोमा उठाउँथियो।
अन्तिममा केही उपाय नलागेर हरिलाई नै कल गरे। ऊ त्यही बस्दो रहेछ। मलाई लिन आइहाल्यो र आफ्नो डेरामा लिएर गयो। त्यहाँ उसको दिदी अनि बहिनी पनि बस्दा रहेछन्। म हरीको दिदी बहिनीलाई राम्रो सँग चिन्थे। उनीहरूलाई देख्ने बित्तिकै म आँगलो हालेर धेरै बेर सम्म रोएँ। उनीहरू पनि रोए म रोएको देखेर। हरीले अब केही काम नपाए सम्म यहि बस्न भन्यो। अरु केही उपाय पनि त थिएन। हुन्छ भन्ने सहमतिमा टाउको हल्लाएँ। त्यहाँ बसेको एक हप्ता पछि हरुले मेरोलागि डिपार्टमेन्टल स्टोरमा काम पाएछन्। त्यही काम गर्न थालें म । पहिलो महीनाको salary ले मैले छोरीको लागि कपडाहरू कीने। अर्को महिना बाट म अब त्यही डिपार्टमेन्टल स्टोरले दिने रूममा बस्ने भएँ। स्टोरको रातमा हेरचाह गर्ने मान्छे चाहिरहेको थियो, त्यही मौकाको फाइदा उठाएर हरिले मेरो लागि कोठापनी मिलाइदिए।
म घर छोडेर हिँडेको ततिका दिन भइसक्दा पनि भाइको वाहेक अरु कसैको कल आएको थिएन म मा। एकदिन म कामबाट हरिको रूममा छोरी लिन जाँदा छोरीलाई सासुले आएर लागेको भन्ने थाहा पाए। बुझ्दै जाँदा गाउँकै मान्छेले मलाई त्यहाँ देखेको र भनिदिएका रहेछन्। मैले तुरुन्तै पोलिस कम्प्लेन गरिहाले र पोलिस सहित घरमा गए छोरी लिनलाई। गाउँभरिका मान्छे मेरो तर्फ बाट गवाही बनेर उभिएका थिए। छोरीलाई मैले फिर्ता ल्याए। त्यो मान्छे जो संग मेरो विवाह भएको थियो र उसको आमालाई पुलिसले पक्राउ गर्यो। मैले अदालतमा अर्जी दिए। हाम्रो कोड पत्र भयो। अदालतले मेरो पक्षमा नै फैसला सुनायो। उनीहरू दुवैलाई कारवाही भयो।
अहिले म त्यही डिपार्टमेन्टल स्टोरमा काम गरिरहेकी छु। मलाई र मेरो छोरीलाई खाना लाउन राम्रो सँग पुगिरहेको छ। म र छोरी एकदमै खुसी छौं। म माइत आमा बुवा संग कहिले काँही मात्रै बोल्ने गर्छु। उहाँहरू अझै पनि ज्वाईलाई एक चोटि मौका दे भनेर भनेको भनेकै गर्नु हुन्छ। म भन्ने गर्छु एकचोटि मेरो जिन्दगी बर्बाद गरिदिएर पुगेन जो फेरि जिन्दगी बर्बाद गर्ने कोसिस गर्दै हुनु हुन्छ। अहिले त म बोल्न पनि छोडिसके बाबा आमासंग। कल गर्नु हुन्छ तर म उठाउँदिन। मलाई अब मेरो जिन्दगीमा कोही चाहिएन। मैले आफ्नो जिन्दगी नै छोरीलाई बनाएको छु। मलाई move on गर्न सहयोग गर्ने हरी प्रति म धेरै नै आभारी छु।
Comments (1)
very nice
Sign in with Google to leave a comment