जुन सपना मैले देखेको थिएँ, त्यो पुरा भएन। जुन इच्छा र चाहना जिन्दगीमा राखेको थिएँ, अब ती रहरहरु पनि ममा मरिसकेको छ। हाँसीहाँसी जिन्दगी बिताउने मेरो रहर चकनाचुर भएको छ। मेरो जीवनमा अब आँसु र पिडा सिवाय केही बाँकी छैन, म आज  दुनियाँको बैँस बिसाउने चौतारी  बनेको छु।


म शकुन्तला गाउँमा सबैले मलाई सकु भन्छन्। पहाडको काखमा एउटा भुसले छाएको एकतले घर छ, जहाँ हामी परिवारका ६ सदस्यहरु बस्छौं। म मेरा दुई भाइहरु, बुबा र आमा। मेरो बुबा खेती गर्नुहुन्छ। बुबा अरुको मेलापात गरेर भए पनि हाम्रा इच्छाहरु पुरा गर्ने प्रयास सधैं गर्नुहुन्छ। तर पनि उहाँको प्रयास सफल हुन सकेको छैन। मेरो आवश्यकता पूरा नहुदा धेरै पटक  बुबाआमासित मेरो झगडा भएको छ। बुबाआमाले मलाई धेरै पटक सम्झाउने प्रयास गर्नुभयो तर मैले मानिनँ। जतिसुकै सम्झाए पनि सम्झाउन नसक्दा बुबाआमाले हार मानि सक्नु भएको छ। आमाले त मेरो नाम नै जिद्दी राखिदिनु भएको छ। मेरो यो जिद्दी उपनाम गाउँ हुदै मेरो स्कुलसम्म चर्चित भएको थियो। मलाई यो नाम असाध्यै प्यारो लाग्थ्यो। कसैले जिद्दी भनी हाल्यो भने म भित्रभित्रै खुसी हुन्थे। किन हो किन? कसैले घमण्डी अनि जिद्दी भन्दा मलाई रिस उठ्थेन बरु मनमा आनन्द अनि गर्वको अनुभूति हुन्थ्यो।

एक दिन मेरो नाताले आन्टी पर्नेसित म जङ्गलमा घाँस काट्न गएको थिएँ। हामी बाटोमा गफगाफमै व्यस्त थियौं। अचानक आन्टीले सोध्नुभयो , तँलाई एउटा कुरा थाहा छ? सकु, मैले सोधे  के कुरा कसको बारेमा? आन्टीले भन्नुभयो, तेरो बारेमा? उत्सुक हुदै मैले फेरि सोधे। राम्रो कि नराम्रो? आन्टीले छिट्टै जवाफ दिइन्, राम्रो नि? त्यसपछि मैले आफूलाई रोक्नै सकिन, अनि भन्नू कि भन्नू भनी जिद्दी गर्न लागेँ। मेरो बारेमा त्यो पनि राम्रो कुरा। वास्तवमा आजसम्म मेरो बारेमा कसैले राम्रो कुरा गरेको मैले सुनेको थिइनँ। आज मैले १६ वसन्त पार गर्दा जिन्दगीमा पहिलोपटक मेरो बारेमा राम्रो कुरा सुन्न गइरहेको थिएँ। यसैले म आज अलिकति भावुक अनि अलिकति उत्ताउलो बन्न पुगेको थिएँ।


तँ राम्री छेस्। स्वर्गकी अप्सरा जस्तै, तेरो यो बाटुलो  निला आँखा, खुलेको छाती, मिलेको जिउ, स्वेत वर्ण, अनि तेरो मुस्कान झन् ज्यानमारा, आ..हा…हा… तँलाई देखेर    लठ्ठ नहुने को होला? म केटा भएको भए अहिले नै तँलाई लिएर भाग्थेँ। तर के गर्नु? केटी परियो। तेरो यो सुन्दरतालाई   जोगाएर राख। तेरो जिन्दगी एक दिन राम्रो हुन्छ। आन्टीको मुखबाट आफ्नो प्रशंसा सुनेर ममा खुसी छाएको थियो। मैले आफूलाई संसार कै सुन्दर स्त्री ठान्न थालेको थिएँ। त्यस दिन हामी ढिला घर फर्किएका थियौं। अबेर भएकोले घरमा मेरो  खोजी भए    रहेछ। बाटो भरि मनमा एउटै कुरा खेलिरहेको थियो। तेरो जिन्दगी राम्रो हुन्छ। जिन्दगी राम्रो बनाउन मैले सेलिब्रिटी बन्ने सोचेँ। यसको लागि मैले काठमाडौं जाने र त्यहीँ कै धनी केटासँग बिहे गरेर आफ्नो जिन्दगी सपार्ने ममा आशा पलाएको थियो। हुन पनि मेरो पछाडि गाउँका धेरै केटाहरू लागेका थिए। प्रेम प्रस्तावहरु पनि धेरैबाट नआएको  होइन। एक जना गाउँकै धनी बाबुको छोरा विवशले कयौंपटक प्रेम प्रस्ताव राखेको थियो। ऊ मेरो लागि मर्न र मार्न तयार थियो। तर पनि उस को धन सम्पत्ति मेरो लागि पर्याप्त थिएन। मैले उसलाई गाली  गरेर उसको अपमान गर्दा पनि ऊ मेरो पछि नै लाग्थ्यो। तर मेरो त सपना अर्कै थियो, उदेश्य बेग्लै थियो। म काठमाडौंको धनी केटासँग बिहे गर्न चाहन्थे जसले मेरो हिरोइन बन्ने सपना पूरा गर्न मलाई साथ दिओस्। मैले    सोचेको मेरो सपनाको राजकुमार एक दिन मैले अवश्य भेट्ने र मेरो सपना पूरा हुने कुरामा म विश्वस्त थिएँ।
मेरो घर बाटोको छेउमा थियो। बाटोमा आउने र जाने मान्छेलाई पानी खुवाउनु हाम्रो दैनिकी बनेको थियो। एक दिन चार जना केटाहरू दुईवटा बाइकमा आएर मेरो घर अगाडि     रोकिए। ती चार जना मध्ये एउटा केटाले मसंग पानी माग्यो । घरमा कोही नभएकोले मैले नै पानी लगेर दिएकी थिएँ। उनिहरुको हुलिया हेर्दा शहरिया जस्तै देखिन्थे।

मैले सोधेँ, तपाईंहरू कहाँबाट आउनु भएको हो? हामी काठमाडौंबाट आएका गाउँ घुम्नलाई। गाउँ त सारै राम्रो रहेछ अनि तिमी पनि। तिनीहरू मध्ये एउटा केटाले जवाफ दियो । काठमाडौं शब्द सुन्दा मलाई कताकता मेरो सपना पूरा हुन लागेको आभास भयो। भगवानले उसलाई मेरै लागि पठाएको जस्तो मलाई लाग्न थाल्यो। त्यसपछि हामी अहिले जान्छौं है पछि भेट हुन्छ नि भनी तिनीहरू बिदा भए। उनीहरू गएको केही दिन पछि मेरो हातमा मोबाइल परेको थियो, जुन मोबाइल काठमाडौंबाट आएको त्यही केटाले मलाई दिएको थियो। मोबाइल पाउँदा म धेरै खुसि भएको थिएँ। मेरालागि यो मोबाइल मात्र थिएन। मेरो जिन्दगी र मेरो भविष्य पनि थियो। मोबाइल हातमा परेपछि हाम्रो दिनहुँ जस्तो कुरा हुन थाल्यो। कम समयमै हामी नजिक हुन थालेका थियौं। हामी एकअर्कालाई मन पराउन थाली सकेका थियौं। एक दिन म खाना खाएर सुत्ने तयारी गर्दै थिएँ, यत्तिकैमा  मोबाइलमा घण्टी बज्न थाल्यो, ज्याकको  फोन आएको रहेछ। हो, उसको नाम ज्याक हो, ऊ काठमाडौंबाट गाउँ घुम्न आएको थियो। मैले फोन उठाएर उसको हालखबर   सोधेँ। उसले पनि मेरो बारेमा सोध्यो। उसलाई अलि सन्चो नभएको जस्तो लागेर मैले सोधेँ, तिमीलाई सन्चो त छ? उसले साथीहरूको लहैलहैमा अलि बढी लिएकाले टाउको भारी भएको कुरा इमानदारीपूर्वक राख्यो । मैले पनि त्यसलाई सहजरूपमा लिएँ।

एक दिन उसले मलाई भन्यो, तिमी इण्डिया घुम्न जाने हो? मैले जाने भने। उसले म त  इण्डिया जाने आउने गरि रहन्छु।  तिमीलाई ल्याए पछि इण्डिया घुमाउन लान्छु नि हुन्छ भन्यो। हुन्छ भन्दै म सुँक्कसुँक्क रुन थालेँ। अनायास मेरो आँखाबाट आँसु झरिरहेको थियो। किन आँसु निस्कियो मलाई नि थाहा थिएन। सायद मेरो मनले उसको साथ खोजी रहेको थियो, सहारा खोजी रहेको थियो। म एक्कासि चिच्याउन पुगेछु। मलाई लिन आऊ, म तिमीबिना एक पल पनि बाँच्न सक्दिनँ। छिट्टै लिन आऊ। सकु के भयो? भन्दै आमाले भने पछि म त सपनामा कराई रहेको रहिछु भन्ने मलाई आभास भयो। आफुलाई सम्हालेर मैले केही होइन, गएर सुत्नु भनी परिस्थितिलाई अनुकूल बनाउने प्रयास गरेँ। एकातिर मेरो रंगीन सपना अर्कोतिर मेरो सपना पूरा गर्ने मान्छे, म मेरो सपना पूरा गर्ने मान्छेलाई गुमाउन चाहन्नथे। म मेरो सपना पूरा भएको हेर्न चाहन्थे। यसको लागि मलाई लिन ऊ चाडैं आओस् भन्ने चाहन्थे। तर मेरो त्यो इच्छा पूरा भएको थिएन।


एक दिन बिहानै उठेर घरको दैनिक काम गर्दै थिएँ। मेरो घरको काममा कुनै रुचि थिएन तर आज किन किन घरको काम गर्ने मनमा इच्छा पलाएको थियो। म आफ्नो काममा व्यस्त थिएँ, त्यतिबेला नै मोबाइलमा घण्टी बज्यो। घण्टीका आवाज पछ्याउँदै म कोठातिर लागेँ। फोन मेरो प्यारो मान्छे, मेरो प्राण ज्याकको थियो। उसले तिमी उठ्या हो भन्यो  मैले उठि सकेँ भनेँ। आज त बिहानै फोन गर्नुभयो भनेर सोध्दा उसले भन्यो, तिम्रो याद आयो अनि तिम्रो ली सुन्न मन लागेर बिहानै फोन गरेको। अनि उसले तिमी ठिक परेर बस, म तिमीलाई लिन आउछु। ठिक एघार बजे चौतारीमा आउछु भन्यो।  उसले लिन आउने कुरा गर्दा मेरो  खुट्टा भुईमै थिएन। म यत्ति खुसी भएकी थिएँ जसलाई म शब्दमा बयान गर्न सक्दिनँ। मैले हुन्छ भनी फोन राखेँ।


भोलिपल्ट ऊ ठिक एघार बजे बाईक लिएर मलाई लिन चौतारीमा आई पुग्यो। म पनि आफ्नो गाउँ, समाज र परिवारलाई लत्याएर आफ्नो सपना साकार पार्न ऊसित काठमाडौं हिडेँ। काठमाडौं पुगेर उसले मसित बिहे गरेको थियो। केही दिन पछि उसले मलाई घुमाउन भारततिर लाने विचार गरेको थियो। मैले पनि उसको इच्छा पूरा गरि दिएँ। उसले मलाई भारततिर लग्यो र एउटा अनजान ठाउँको  कोठामा लग्यो। उसले भन्यो, तिमी एकै छिन आराम गर्दै गर, म एउटा जरुरी काम सल्टाएर आउछु। मैले पनि हुन्छ भनेँ। तर ऊ गएको धेरै समय पछि पनि ऊ आएन। मैले उसलाई कन्ट्याक्ट् गर्ने धेरै प्रयास गर्दा पनि म सफल हुन सकिनँ। रात परि सकेको थियो, उसको अत्तोपत्तो थिएन। मलाई अब डर लाग्न थालेको थियो। म चिच्याउन थाल्छु। यत्तिकैमा एउटा केटीको मुखबाट सुन्दा म छाँगाबाट खसेकी थिएँ। मलाई विश्वास नै लागेको थिएन कि म बेचि सकेको थिएँ। मलाई ज्याकले बेचेर मनग्गे पैसा लिएर नेपाल फर्कि सकेको थियो। 


ज्याक नशाको लतमा फसेको रहेछ। डेरामा बस्ने उसका आमाबाबु ऊबाट दिक्क भई सकेका रहेछन्। एउटा सामान्य आर्थिक स्तर भएका उनीहरुको लागि  छोरा बिग्रनु साधारण कुरा थिएन। ऊ नशामा यत्ति फसि सकेको थियो कि नशाको लागि अपराध  गर्न पनि थालेको थियो। उसले मसंग कुनै साँचो माया गरेको रहिनछ। उसले त मलाई प्रयोग मात्र गरेको रहेछ। उसको योजना मसंग बिहे गरेर मलाई भारतमा लगेर बेच्ने र मनग्गे पैसा कमाउने रहेछ। म नै उसको षड्यन्त्रमा फसि सकेको थिएँ। जिन्दगीमा धेरै महत्वाकांक्षी बन्दा मैले आफ्नो लागि दुःख रोजि सकेकी थिएँ। आमाले सम्झाउदा पनि नसम्झिने म जस्तो छोरीले दुः ख नपाएर कसले पाउछ? आमाले किन सम्झाउनु भएको रहेछ भन्ने आज बल्ल बुझ्दै छु। तर के गर्ने अब ढिलो भई सकेको थियो। आज म नारकीय जीवन जिउन बाध्य भएको छु। जिन्दगीमा कुनै नयाँ भविष्यको सम्भावना देख्दिन। मेरो जिन्दगी अब यसरी नै बित्छ भन्ने लागि रहेको छ। जिन्दगीमा कुनै आशा र भरोसा देखेकी छैन। जिन्दगी मेरो निराश, हतास र पिडै पिडाको समुन्द्र बनेको छ। 


जसलाई मैले विश्वास गरेकी थिएँ, उसैबाट यत्रो घात हुन सक्छ भन्ने मैले सपनामा पनि चिताएकी थिइनँ। तर जे हुनु थियो भई सकेको थियो। उसले मलाई बेचि सकेको थियो। म नारकीय जीवन जिउन बाध्य भई सकेकी थिएँ। 


मैले आज यहाँ  जीवनको स्वतन्त्रता र मर्यादा  गुमाएको छु। म ग्राहक र वेश्यालय मालिकहरू दुवैबाट बलात्कार र जबरजस्ती लगायत शारीरिक र भावनात्मक दुर्व्यवहारको शिकार भएको छु। म लामो समयसम्म काम गर्न बाध्य छु। मेरो लागि आराम गर्ने दिन र बिदाका दिनहरु कहिले आएन। म बिरामी हुदा पनि मैले यहाँ आराम गर्न पाउदिन। जति ग्राहक भए पनि डिल भएका ग्राहकलाई मैले खुसी बनाउनै पर्छ। म हर दिन र हर रात बलात्कृत हुन बाध्य छु। यहाँ मेरो पीडा बुझ्ने र सहानुभूति दिने   कोही छैन। मैले महत्त्वपूर्ण स्वास्थ्य जोखिमहरूको सामना गर्नु परेको छ। मैले यौन संचारित संक्रमण, हिंसा, र लागूपदार्थको लतबाट आफूलाई बचाउन सकिरहेको छैन।  स्वास्थ्य सेवा र अन्य आधारभूत आवश्यकताहरूमा पहुँच नभएकोले म अस्तित्वहीन हुन पुगेको छु।


यो कथा म यही नारकीय स्थलबाट लेख्दै छु। जसको उदेश्य मजस्तै अरु केटीहरुलाई सचेत गराउनु हो। मेरो जीवनगाथा पढेर पक्कै पनि केही न केही शिक्षा ग्रहण गरि आफ्नो जीवनलाई गलत दिशामा लैजाने प्रयास गर्नु हुने छैन भन्ने आशा लिदै मेरो  यो कारुणिक प्रेम कथा अन्त्य गर्दै छु।