एउटा मध्यमवर्गीय परिवारमा मेरो जन्म भयो। आमा बुवाको दुइटा सन्तान मध्ये म जेठो  थिएँ। जेठो सन्तान भएका कारण धेरै पुल्पुलिएको पनि थिएँ। म भन्दा सानो एउटा भाइ थियो। जति बेला जे भन्यो त्यो पुराइदिनु हुन्थ्यो बाबा आमाले हामीलाई। मध्यमवर्गीय परिवार भएपनि खाना लाउन दुःख थिएन हामीलाई, पैसा पुगेको हुन्थ्यो सबैकुराको लागि। एक्लो छोरो भएका कारण बाबा आमाले मलाई पढाउने धेरै रहर गरेर गाउँकै विद्यालयमा भर्ना गरिदिनु भयो। कक्षा सात सम्म मेरो पढाई एकदमै राम्रो थियो। दिनकै विद्यालय जाने आउने गर्थे म। आमा बुवा पनि म देखि धेरै खुसी हुनु हुन्थ्यो। तर मैले उहाँहरुको खुसी धेरै दिन सम्म रहन दिईन। म मेरा साथीहरु जस्तै गरी कुलतमा फस्दै गहिरहेको थिएँ। मेरो बर्बादीको सुरुवात चुरोटबाट भयो। त्यसपछि गाँजा, चरेस, ब्राउन सुगर आदि। 


जहिले पहिलो बेञ्चमा बस्ने म अब बिद्यालयमा अन्तिम बेञ्चमा बस्न थालेको थिएँ। शिक्षकहरूको प्रश्नको उत्तर हतपत दिने विद्यार्थी म अब शिक्षक हरुले नदेखे हुन्थ्यो जस्तो गर्न थालेको थिएँ। घरमा आमा बुवासँग समय बिताउन पाउँदा खुसी हुने म अब एक्लै बस्न रुचाउने हुन थालेको थिएँ। मेरो यो बदलिँदो सोभावले घरमा साथै विद्यालयमा पनि सबै दंग परिरहनु भएको थियो। म कोही संग बोल्न रूचाउन छोडिसकेको थिएँ। पहिला घर छोडेर नहिड्ने मान्छे म अहिले कति दिन सम्म घर आउँदैन थिएँ। सब अचम्ममा पर्दै हुनुहुन्थ्यो। बिस्तारै मेरो यो लतको बारेमा सबैलाई थाहा हुन थाल्यो। बाबा, आमा, र विद्यालयमा गुरु, गुरुआमाहरु लाई पनि। विद्यालयका सबै साथीहरु लाई पनि थाहा भएसकेको थियो। मलाई भने केहीको पर्वाह नै थिएन। थाहा पाए झन् राम्रो अब झन् केही गर्दैनन् सबैको अगाडी खाएर हिँड्न सक्छु जस्तो लागिराखेको थियो। मैले गरे पनि त्यस्तै, लुकेर खाने गर्थे अब सबैको अगाडी खाएर हिँड्थे। बाबा आमाको कुरा सुन्दा पनि सुन्दिन थिएँ। बाबासँग दिनकै झगडा गर्थे। आमासंग जतिनै खाएर आए पनि राम्रो संग बोल्ने गर्थे। बाबा आमालाई पिर थियो घरको जेठो छोरो त्यहाँ माथिपनि त्यसको हालत यो छ भनेर। मलाई दिनकै सम्झाउनु हुन्थ्यो यस्तो गर्नु हुन्न छोरा भन्दै। तर म कहाँ सुन्ने वाला थिएँ र। आमा बाबालाई गनै छोडिसकेको थिएँ। आमा बुवालाई अब सानो भाई पनि त्यही बाटोमा लाग्ने हो कि भन्ने पिर ले दिन दिनै सताउँदै गहिरहेको थियो। तर भाई त्यस्तो भएन उसले राम्रो संग पढाइ पूरा गर्यो र आर्मीमा भर्ती भयो। 


मैले लागुदार्थको लतमा लागेर घरमा भएको सबै पैसा सकाउन थाले। आमाले बत्ती, खाने पानीलाई तिर्न राखेको पैसा चोरिदिन्थे। धान, चामल बेचेर आएको पैसा चोरिदिन्थ्ये। अनि त्यही पैसाले लागुदार्थ किनेर खान्थेँ। घरमा भएका भाडाकुडा पनि बेच्न थालिसकेको थिएँ मैले। आमाको गरगहना पनि बेचेर पैसा लिने गर्थे म। बाबाले अब यसको विवाह गरिदिनु पर्छ अनि बल्ल यो सुध्रिन्छ भन्न थाल्नु भयो र मेरो विवाहको लागि केटी खोज्न थाल्नु भयो। म जस्तो ट्यापे लाई कसले दिने छोरी, गाउँभरिका लागि थाहा थियो कस्तो छु म भनेर त्यसकारण गाउँमा मैले कोही पनि केटी पाइन विवाह गर्नलाई। बाबा थाल्नु भयो केटी खोज्दा खोज्दै। धेरै समयको खोजी पछि एउटा केटी बल्ल बल्ल भेटियो। मेरो विवाह पनि भयो उ संग। उनी राम्रो थिइन हेर्दा। विवाहको केही समय पश्चात थाहा पाएँ बानी पनि एकदमै राम्रो थियो उनको। विवाह भएको 4-5 महिना सम्म मैले केही लागूपदार्थ सेवन गरिन। डर थियो श्रीमतीले छोडेर जान्छिन् की मेरो बानीको बारेमा थाहा भयो भने। तर त्यही त हो नि एक चोटि लागेको बानी काहाँ नै सुध्रिन्छ र ।


मैले फेरि लागूपदार्थ सेवन गर्न थालेँ। श्रीमतीले छोडेर गए नि जाओस् जस्तो लाग्न थाल्यो। विवाहको सात महिना पश्चात श्रीमती गर्भवती भईन। तर मैले उनको केही वास्ता नै गरिन। एउटा श्रीमानले पूरा गर्नु पर्ने कर्तब्य मैले कहिले पूरा गरिन। श्रीमतीले पनि कहिले केही गुनासो गरिनन् मलाई। मैले श्रीमतीलाई पिट्ने पनि गर्न थालिसकेको थिएँ। श्रीमतीको गहना हरु पनि बेचेर म लागुदार्थ सेवन गर्थे। मैले घरमा गाली गर्न झगडा गर्न बाँकी राखेको भनेको आमा संग मात्रै थियो। एकदिन श्रीमतीलाई पिट्छु भन्दा आमालाई पिट्न पुगे। अब मैले गर्न बाँकी केही पनि थिएन। घरको समान बेचेर सकाईसकेको थिएँ। बाबाले घर बनाउन भनेर कर्जा लिनु भएको थियो पाँच लाख त्यो पनि मैले लागूपदार्थ मै सकाए। फेरि अर्को कर्जा लिनु भयो त्यो पनि मैले त्यसै गरी सकाएँ। बन्दै गरेको घर पनि अब बीच मै रोक्न पर्यो। घरमा सदस्य बढ्दै जाने थिए अब। भाई को पनि विवाह भएर बुहारी पनि गर्भवती थिइन्। भाई लाहुरे थियो। उसले आफ्नो श्रीमतीको लागि एउटा मान्छे नै राखेको थियो जिउ मसाज गरिदिन। मेरो त्यो गर्न सक्ने अवस्था थिएन। म केही कमाउँदैन थिएँ। उल्टै घरको पैसा सकाएको थिएँ मैले। 


मैले सबै भन्दा बढी दुःख त श्रीमतीलाई दिएँ। हाम्रो दुई छोरा हरु जन्मिसकेका थिए। श्रीमती मेरो बानी देखेर दिक्क भएर कायौं चोटि घर छोडेर हिँड्न खोजेकी थिइन्। उनी श्रिर्फ मेरो आमाबुवाको अनुहार हेरेर त्यहाँबाट जान सकेकी थिइनन्। पढे लेखेकी थिइन्। कमाएर आफु र छोरा हरु लाई पालन सक्थिन् उनी। तर मेरो बाबा आमाको बारेमा सोचेर उनी त्यहाँ बाट जान सकिनन्।


मैले घरमा कसैलाई केही नभनी रिहाव गएर बस्ने निर्णय गरेँ। मैले श्रीमती बाहेक अरु कसैलाई केही भनिन। श्रीमती खुसी थिइन् मेरो त्यो कुराले। अब मलाई सुध्रिनू पर्छ जस्तो लागेको थियो। आफ्नो लागि नभए पनि श्रीमती र छोराको निम्ति। उनीहरूको आफ्नो भन्ने म नै त थिएँ नि। म आफुनै यसरी हिंडे पछि तिनीहरूको बिचल्ली हुन्छ भन्ने मलाई लाग्न थालेको थियो। म गए रिहाव। त्यहाँ छ महिना बसे। त्यहाँको बसाइले मैले धेरै कुरा सिक्ने अवसर प्राप्त गरे। त्यहाँ बाट निस्किएपछि मेरो जिन्दगी नै बदलियो। म सानो हुँदा जस्तो थिएँ फेरि त्यस्तै जस्तो भएको आफूलाई भान भएरहेको थियो। 


यस्तो मलाई केही दिनको लागि मात्रै लागेको रहेछ। मलाई केही दिनको लागि मात्रै मेरो जीवन फेरियो जस्तो लागेको रहेछ। रिहाव बाट फर्किएको एक महिना पछि नै मा फेरि लागुदार्थको सेवन गर्न थाले। श्रीमती मेरो बानी कहिले सुध्रिने रहेनछ भन्ने बुझिसकेको थिइन्। उनी अब मलाई केही भन्न पनि छोडिन्। उनी म घरमा छैन जस्तो व्यवहार गर्थिन्। खाना खाने बेला मात्रै बोलचाल हुन्थ्यो हाम्रो त्यो पनि खाना आउनु भनेर बोलाउँथिन्न मात्रै अनि मा गएर खाना बस्थे। केही थप्नु पर्यो भने मात्रै बोल्थे म पनि। यसरी हाम्रो सम्बन्ध छुटिसकेको थियो। मैले आफै संग प्रण गरे म जसरी पनि सुध्रिन्छु भनेर। यो चोटि कसैलाई केही भनिन। रिहाव पनि गईन। आफै घरमा बसे, जो साथीहरु संग लागेर म लागुदार्थको सेवन गर्थे उनीहरू बाट म टाढा बस्न थाले। 


श्रीमतीले मा बिस्तारै बदलिएको महसुस गरिरहेकी थिइन्। उनी आएर मलाई सम्झाउन थालिन। म हजुरलाई यो चटकै छोडिदिनु भनेर भन्दिन, हजुरले सानैदेखि यो खान सिक्नुभयो त्यसकारण एक्कासी छोड्न धेरै गाह्रो हुन्छ त्यो बुझेकी छु मैले। थोरै थोरै खाने गर्नुहोस् बिस्तारै बानी हटाउदै जानु म सदैव हजुरकै साथमा रहनेछु, हजुरको हरेक कुरामा साथ दिनेछु। उनको यो कुराले म मा झन् बढी हिम्मत आयो र अब देखि केही पनि नछुने प्रण गरेँ। मैले अब चुरोट मात्रै पिउन थालेँ। श्रीमतीले केही भनिनन्। मैले बिस्तारै बिस्तारै चुरोट पनि छोड्ने प्रयास गरे। 


अहिले म सबै थोक बाट मुक्त छु। लागुपदार्थबाट मुक्त छु। आफु श्रीमती, दुई बच्चा र आमा बुवाको साथमा। आमा बुवा पनि एकदमै खुसी हुनु हुन्छ म बदलिएको देखेर। बुढेसकालमा भए पनि छोरो सुध्रिएको देखेर आमा बुवा मक्ख हुनुहुन्छ। छोराहरू पढाईमा तेज छन्। म आफूले त पढिन तर छोराहरूलाई भने धेरै पढाउने सोच बनाएको छु। छोराहरू लाई संघर्ष गर्न सिकाउँछु। 


म लागूपदार्थको लत बाट छुटेको आज दस वर्ष भयो। देख्छु अहिलेका बच्चाहरु लाई चुरोट, गाँजा, रक्सी खाँदै हिँडेको! आफूले गरेको गल्तीहरुको याद आउँछ। मैले पनि यस्तै गरेर आमा बुवाको मन दुखाए। उहाँहरुको सपना लत्याए। यी बच्चाहरुले पनि त्यही नै गल्ती गरिरहेका छन् थाहा छ मलाई। यसकारण आजकाल मैले एउटा संस्थाको सुरुवात गरेको छु। म लगायत त्यहाँका अरु सदस्यहरू पनि हप्तामा एक चोटि हरेक विद्यालयमा गएर चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका हुन्छौं। लागु पदार्थ दुर्व्यसनमा फसेका विद्यार्थीहरुलाई त्यसबाट मुक्त गराउन रिहाब पठाउने गरेका छौं। हामीले यस्ता कयौँ विद्यार्थीहरूको जीवन बिग्रिन बाट बचाएका छौं।