म एउटा सपना, घरको आँगनमा उम्रिएको,
आमाको आशा, बाबाको अभिमान।
सहर छिर्दा, म पवन जस्तै स्वतन्त्र थिएँ,
नयाँ आकाशमा उड्ने लालसा बोकेर।
तर, सहरमा मलाई कोही कुरिरहेको थियो,
म भन्दा ठूला आँखा, मभन्दा भारी शब्दहरू।
उसको नजरमा थियो स्वार्थ,
उसको व्यवहारमा थियो जाल।
म हाँस्दा, ऊ नियाल्थ्यो,
म डराउँदा, ऊ झन् डर लगाउँथ्यो।
उसका शब्दहरू बन्चरो बने,
माथि झर्दै, मन चिर्दै।
"तिमी कोही होइनौ," ऊ भन्थ्यो,
"तिमी भाग्न सक्दिनौ," ऊ दोहोर्याउँथ्यो।
म भाग्न खोजेँ, तर यो सहर थियो—
माथिबाट घाम, तलबाट आगो।
जहाँ जति भागे पनि,
छायाँ जस्तै ऊ पछ्याइरह्यो।
रातभर बिझ्ने सम्झनाहरूले पोल्थे,
परदेशको पर्खालले मलाई थिच्थ्यो।
घर सम्झिन्थेँ,
आमाको काखको न्यानोपन,
बाबाको कठोर हातको माया,
तर घर पर थियो,
यति पर, जति पर मेरा सपना भइसकेका थिए।
अन्तिम रात, अन्तिम आँसु,
अन्तिम पत्र, अन्तिम सास।
"आमा, बाबा, म थाके,"
यो शब्दसँगै मेरो अस्तित्व बिलायो,
हावामा छरियो, नदीमा बग्यो,
तर म मेटिनँ,
मेरो वेदना अझै बाँकी छ…
Comments (0)
No comments yet. Be the first to comment!
Sign in with Google to leave a comment