'बाबा' यो शब्द सुन्दा नै कति धेरै प्यारो छ नि है। बाबा, पापा, बुवा, ड्याडी यी सबै अक्षरहरू फरक भए पनि यिनका अर्थ एकै हुन्... कति महान् छन् यी शब्दहरू। तपाईंहरू मध्ये कसैले बाबा भन्नु होला, कसैले बुवा, कसैले पापा त कसैले ड्याडी। जस्ले जे भनेपनि यसको तात्पर्य त एउटै नै हो। हामीले उहाँहरुलाई गर्ने सम्मान अनि माया पनि एउटै नै हो। यी शब्दहरु संग संगै हाम्रो मन मस्तिस्कमा धेरै यादहरू ताजा भएर आउँछ। उहाँहरुसँग बिताएका हरेक पल आँखा अगाडि आउन थाल्दछन्। सबैको आफ्नो पितालाई सम्बोधन गर्ने फरक तरिका हुन्छ र मेरो पनि पितालाई सम्बोधन गर्ने शब्द अरुको भन्दा फरक नै छ। म उहाँलाई ड्याडी भनेर सम्बोधन गर्छु। नेपाली समाजमा ड्याडी भनेर सम्बोधन गर्नु अलि फरक नै कुरा हो भन्ने मान्छु म। अहिले त धेरै जसोले आफ्नो बुवालाई ड्याडी भनेर सम्बोधन गरेको सुनेको छु तर म सानो हुँदा यो कुरा अलि फरक नै थियो। जो कसैले ड्याडी भनेर सम्बोधन गर्दैन थिए। र जुन समाजमा म हुर्किएँ त्यहाँ त कहिले अरुले ड्याडी भनेर सम्बोधन गरेको सुनेन मैले। मलाई ड्याडी नै भनेर सम्बोधन गर्न सिकाउनुभयो घरमा। हाम्रो समाजमा जति कुरा आमाको गरिन्छ त्यति कुरा बाबा को बारेमा गरिदैन। उहाँको दुख कष्ट खासै चर्चा गरिदैन। जति महत्व आमाको यस समाजमा दिइएको छ त्यति महत्व बुवालाई दिइएको जस्तो मलाई लाग्दैन। बाबाको साथ, माया, दुख, कष्ट, मेहनतको वर्णन गर्न शब्द एकदमै कम हुने गर्छ। हुन त कसैले वर्णन गर्न पनि सक्दैन उहाँको त्याग र मायाको बारेमा। र मेरो पनि कुनै हैसियत छैन उहाँको बारेमा केही लेख्न। तर पनि सानो कोशिस गरेको छु उहाँको बारेमा केही लेख्न।
बाबा शब्द नै काफी छ, त्याग र समर्पणको कुरा गर्ने हो भने। उहाँले गर्नु भएको त्याग र समर्पण जति नै देखे पनि कहिले बुबाको अगाडी हजुरले हाम्रो लागि यति धेरै दुःख गर्नु भयो भन्ने हिम्मत कहिले आएन। बुवा अब हजुरले दुःख गर्नु पर्दैन, म छु नि, मैले गर्छु भन्ने आँट कहिले आएन। पुरै परिवारको दुःख एक्लैले उठाउनु भएको छ हजुरले, यो देख्दा देख्दै पनि बुवा म नि सहयोग गर्छु हजुरलाई भन्न आएन। हजुरले कहिले गर् भनेर भन्नु पनि भएन।
म यो धर्तीमा आएको पनि 25 वर्ष पुरा भएर 26 वर्ष पूरा हुन थालिसकेछ। ड्याडीले यो 25 वर्षमा म र भाइको लागि के के गर्नुभयो त्यो त म यहाँ शब्दमा बयान गर्न सक्दिन। ड्याडी घरको जेठो छोरा र म मेरो आमा बुवाको पहिलो सन्तान घरको जेठो नाति र आमा बुबाको जेठो छोरा । मेरो आगमनसंगै उहाँ बुबा बन्नुभयो। उहाँ भन्ने गर्नुहुन्छ म जन्मिँदा बच्चा बाच्दैन जस्तो स्थिति भएको थियो रे अनि ड्याडीले मेरो र ममीको सलामति को लागि भाकल गर्नु भएको थियो रे। उहाँ अझैपनि भन्ने गर्नुहुन्छ र विश्वास पनि गर्नुहुन्छ त्यही भाकल ले गर्दा हामी सहि सलामत छौँ भनेर। मेरो जन्म भएको थियो भारतको देरादुन सहरमा, ड्याडी रोजगारीको सिलसिलामा त्यहाँ जान्नुभएको थियो रे ममीलाई साथमा लिएर। मेरो जन्म नभएसम्म उहाँहरुलाई धेरै दुःख भएको थियो रे, खान लाउनको स्थिती धौ-धौ थियो। काम भेटिहाले तलब राम्रो पाइदैन थियो रे। यस्तै अनेकौं अनेक समस्याहरूको बिचमा मेरो जन्म भएको थियो।उहाँहरूले भन्नुहुन्छ तँ जन्मिए पछि मात्रै हाम्रो घरमा सुख शान्ति आएको हो। बस्ने ठाउँ, तलब,काम सबै कुरा राम्रो भएको। ड्याडीले कहिल्यै आमाले जसरी माया देखाउनु भएन। तर उहाँले गर्ने माया कहिले कम भएन। उहाँले मलाई माया आमाले भन्दा पनि बढी गर्नुहुन्छ, मैले धेरै चोटी महशुस गरेको छु यो कुरा। उहाँ भन्ने गर्नुहुन्छ तँ खुसी भएको दिन, तेरो अनुहार उज्यालो भएको दिन व्यापार राम्रो हुन्छ, घरमा पनि राम्रो हुन्छ, तँ सधैं खुसी हुने गर्।
संसारको सबैभन्दा भाग्यमानी म आफूलाई नै मान्ने गरेको छु किनभने यति माया गर्ने परिवार पाएको छु। ड्याडीले संधै मेरो हरेक कुरामा साथ दिनुभएको छ। उहाँसँग पैसा होस् वा नहोस्, मलाई जरुरत परेको बेलामा दिनु भएकै हुन्छ। हामीलाई पढाउनकै निम्ति उहाँले दिनरात नभनेर मेहनत गर्नुभएको छ। कति रात सुत्नु भएको छैन। सकिनसकी हाम्रो हरेक जरुरत पुरा गर्नु भएको छ। राम्रो कपडा लगाउनु भएन, सिर्फ हाम्रो लागि राम्रो कपडा किनिदिन। हामीलाई हरेक ठाउँमा अघि बढ्न प्रेरित गर्नु भयो। उहाँले गर्नु भएको हरेक दुःख, कष्ट र मेहनत मैले मेरो आँखाले देखेको छु। म हाम्रो सम्बन्धलाई अच्चमको सम्बन्ध भन्ने गर्छु। किनभने हाम्रो अति धेरै झगडा पर्छ। ड्याडी छोराको झगडा पर्नु कुनै ठुलो कुरा त होइन तर हाम्रो झगडा कुनै ठुलो कुरामा पर्ने होइन, सा-सानो कुरामा पर्ने गर्छ। ड्याडीलाई बच्चाहरू संग चलिराख्नु, जिस्किनु पर्ने र मलाई चाहिँ मन नपर्ने, अनि हाम्रो झगडा पर्ने यहि कुरामा। कोही बच्चा भेट्नु भएन भने म सँग चल्नु हुन्थ्यो। त्यस पछि सुरु हुन्थ्यो बाउ छोराको झगडा, सकुन्जेल चल्थेँ ड्याडी सँग अनि सक्न छोडे पछि ममी......... भन्दै चिच्याई कराउथेँ। सानो हुँदा मात्रै होइन ड्याडी अहिले पनि यस्तै गर्नु हुन्छ अनि म पनि उस्तै नै गर्छु। घर वरपरका मान्छे कति चल्छन् यी बाउ छोरा भन्छन्।
एक समय यस्तो पनि थियो ड्याडी रात बिहान नभनिकन काम गर्ने गर्नु हुन्थ्यो। पहिलाको परिस्थिति भन्दा त अहिले धेरै फरक छ हाम्रो परिस्थिति। पहिले ड्याडी (गाडा) चलाउनु हुन्थ्यो तर अहिले सानै भएपनि होटल छ। पहिलेको भन्दा परिश्रम कम गर्नु पर्ने भएपनि उहाँ पहिले गर्ने परिश्रम भन्दा कम देख्दिन म। फरक यति छ कि कामको केही ठेगान हुँदैन थियो पहिले भने अहिले कामको ठेगान छ। पहिले आदि रातमा उठेर काममा हिड्नु पर्थ्यो भने अहिले त्यसरी हिड्नु पर्दैन। दिन भरी घाममा हिँड्नु पर्दैन। घाँस, दाउरा र खेतमा काम गर्नु पर्दैन।तर पहिलाको भन्दा उहाँको जिम्मेवारी बढेको छ। पैसा झन् धेरै कमाउन पर्ने भएकाे छ। मेरो कलेजमा, भाईको लागि, कोठा भाडा, खाना, कपडा अनेक कुराको लागि। सिर्फ ठाउँ बद्लियो, पेशा बद्लियो तर गर्नु पर्ने परिश्रम र घरमा हुने आर्थिक तनाव कहिल्यै बद्लिएन। आर्थिक तनाव हामी जति ठूलो हुदै गयौँ त्यति बढ्दै गयो। सानो कक्षामा मात्रै रहेछ थोरै पैसा तिर्नुपर्ने विद्यालयमा, जति ठूलो कक्षामा पुगिंदो रहेछ त्यति बाबा आमाको लागि आर्थिक तनाव बढ्दो रहेछ। यहि आर्थिक तनावले गर्दा उहाँले कति चोटी दशैंमा नयाँ कपडा किन्नु भएको छैन। तर हाम्रो लागि भने चाहिँ हरेक चोटि किनिदिनु भएको छ। केहीको कमी पार्नु भएको छैन हाम्रो लागि। ठुला भयौँ भाई र म, भाईले सानैदेखि घर छोडेर टाढा बस्यो पढ्नका लागि। मैले bachelor पढ्नका लागि घर बाट टाढा बसेँ। अहिले पनि हामी घर बाट टाढा नै छौँ। कहिले काँही मात्रै जान्छौँ घर। हामी घरमा नभएको कारण उहाँहरूले मिठो खाने कुरा खानु भएको हुँदैन। किन नखानु भएको भनेर सोध्दा, तिमीहरु घरमा छैनौँ हामी एक्लै के खानु मिठो खानेकुरा! जति मिठो खानेकुरा पनि तिमीहरु बिना खल्लो र नमिठो हुन्छ, भन्नुहुन्छ। साँच्चै नै भन्छन् आमा बुवाले जत्तिको माया गर्ने अरु मान्छे भेटाउन धेरै गाह्रो हुन्छ। मेरो ड्याडी मेरो लागि भगवान हुनुहुन्छ। उहाँले मेरो लागि जति सपना देख्नु भएको छ, जति आश गर्नु भएको छ म बाट अबश्य पुरा गर्ने छु। उहाँको हरेक सपना पूरा गर्ने छु।उहाँले आफ्नो जति रहर मार्नु भएको छ, हरेक रहरहरु पुरा गर्नेछु। उहाँको शिर उच्च पार्नेछु यो समाजमा।
Comments (1)
nice
Sign in with Google to leave a comment